नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा मकवानपुरका युवा नेता राजेश भेटवालले सामाजिक सुरक्षा भत्ता वितरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा चिन्ता व्यक्त गरेका छन्। उनले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
भेटवालका अनुसार, श्रावणदेखि लागू हुने यो नियमले मकवानपुरका ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई समस्या परेको छ। उनले परिचयपत्र नबनेसम्म पुरानै प्रक्रियाबाट भत्ता वितरण गर्न माग गरेका छन्।
“दिनभर लाइन बस्नुपर्ने, त्यसमा पनि पालो नआउँदा निकै कठिनाई छ,” भेटवालले भने। उनले थपे, “गाउँघरमा युवापुस्ता छैनन्, सबै वैदेशिक रोजगारीमा छन्। गाउँमा भएका ज्येष्ठ नागरिकलाई पनि परिचयपत्रले गर्दा थप सास्ती भोग्नुपरेको छ।”
पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले स्थानीय तहसँग समन्वय गरी वडा-वडामा फारम भर्ने व्यवस्था मिलाइने आश्वासन दिए। उनले अशक्त, अपाङ्गता भएका र ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई तत्काल परिचयपत्र बनाउन नपर्ने पनि जानकारी दिए।







