मकवानपुर जिल्लामा एक साताभित्र जंगली विषालु च्याउ खाएर तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १६ जना बिरामी परेका छन्।
मृत्यु हुनेहरूमा कैलाश गाउँपालिका-९ नामटार निवासी विनोद लामाका ४ वर्षीय छोरा दिपेश लामा, सोही ठाउँकी २५ वर्षीया निरुमाया रुम्बा र राक्सिराङ्ग गाउँपालिका-७ दुगुवाङ्ग निवासी ५५ वर्षीय बलबहादुर प्रजा रहेका छन्।
असार ३ गते जंगली च्याउ खाएर बिरामी परेका दिपेश लामा र निरुमाया रुम्बाको सिएमसी अस्पताल चितवनमा उपचार भइरहेको थियो। तर परिवारले आर्थिक अवस्था कमजोर भएको कारण देखाउँदै दुवैलाई घर लगेका थिए। त्यसपछि असार ८ गते दुवैको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, असार ८ गते जंगली च्याउ खाएर बिरामी परेका बलबहादुर प्रजाको भरतपुर अस्पताल चितवनमा सोही दिन मृत्यु भएको छ।
प्रहरीका अनुसार बिरामी परेका १६ जनामध्ये ८ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको सामान्य अवस्थामा उपचार भइरहेको छ।








