मकवानपुरमा क्रियाशील १२ वटा राजनीतिक दलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको चौथो वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन्। शुक्रबार हेटौंडामा हुने उक्त कार्यक्रममा सहभागी नहुने निर्णय गरिएको हो।
नेकपा एमाले बाहेकका दलहरूले संयुक्त रूपमा यो निर्णय गरेका हुन्। उनीहरूले हेटौंडा प्रादेशिक अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णयको विरोधमा लामो समयदेखि आन्दोलन गरिरहेका छन्।
दलहरूका अनुसार यो गाभ्ने कार्य संघीय कानून विपरीत प्रदेश ऐन २०७६ जारी गरेर गरिएको हो। उनीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, “प्रतिष्ठानको छुट्टै अस्तित्व रहनेगरी समृद्धि र प्रगतिको शुभकामना दिन चाहान्छौं। तर त्रुटिपूर्ण ऐनका दफाहरू खारेज नगरेसम्म प्रतिष्ठानका कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौं।”
यस निर्णयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाल, राप्रपा, नेकपा, जनता समाजवादी, नेकपा माले र क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायतका दलहरू सहमत भएका छन्।
दलहरूले आफ्ना चरणबद्ध आन्दोलनका कार्यक्रमहरू निरन्तर अगाडि बढाउने जनाएका छन्।







