
तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयले गत शैक्षिक वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरेको छ।
हेटौंडा उपमहानगरपालिका वडा १० स्थित विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा ४३ जना उत्तीर्ण विद्यार्थी, अभिभावक र ८ जना उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ।
विद्यालयका प्रधानाध्यापक रघु खरालका अनुसार, कुल ४९ परीक्षार्थीमध्ये ४३ जना (८८%) उत्तीर्ण भए। जसमा ९ जनाले ए प्लस, १३ जनाले ए, १२ जनाले बी प्लस र ९ जनाले बी ग्रेड प्राप्त गरे।
कार्यक्रममा वडाध्यक्ष फुर्वा दोर्जे लामा प्रमुख अतिथि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठको विशिष्ट अतिथ्य रहेका थिए।
विषयगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षकहरूलाई विशेष पुरस्कार प्रदान गरियो। कम्प्युटर शिक्षक सुरेन्द्र गौतम, गणित शिक्षक देवेन्द्र चापागाईं र अंग्रेजी शिक्षक कमल नेपालका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेका थिए।
प्रधानाध्यापक खरालले आगामी वर्षहरूमा अझ राम्रो नतिजा ल्याउने लक्ष्य राखेको बताए। उनले नारायणी कलेजमा विज्ञान र व्यवस्थापन विषयमा भर्ना खुला गरिएको जानकारी दिए।
विद्यार्थी आकर्षणका लागि विशेष छुट योजना घोषणा गरिएको छ। तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ५०% भर्ना शुल्क छुट दिइनेछ। असार महिनाभित्र भर्ना हुने अन्य विद्यार्थीहरूलाई ५ हजार रुपैयाँसम्मको
छुट प्रदान गरिने खरालले बताए।








