आयुर्वेद सेवाको बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार मकवानपुरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरले यो कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा आयुर्वेदिक सेवाहरू, स्वस्थ जीवनशैली, मनोपरामर्श र योग लगायतका विषयमा छलफल गरिएको थियो।
चिकित्सालयकी प्रमुख डा. ललिता पाण्डेले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरिने विभिन्न कार्यक्रमहरूको जानकारी दिइन्। यी कार्यक्रमहरूमा महिला स्वयंसेविकालाई आयुर्वेद सचेतना, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, एक जिल्ला एक जडिबुटी उद्यान निर्माण, पञ्चकर्म, जेष्ठ नागरिक कार्यक्रम र विद्यालय आयुर्वेद तथा योग शिक्षा समावेश छन्।
चिकित्सालयले हालसम्म १७,६८० जना (८,७६२ पुरुष र ८,९१८ महिला) लाई सेवा प्रदान गरिसकेको छ। यसका साथै, मातहतका विभिन्न औषधालय र सेवा केन्द्रहरूबाट ३२,९९१ जनाले उपचार सेवा लिएका छन्।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी सूर्य प्रसाद चापागाईं, आयुर्वेद कन्सल्टेण्ट साइरस न्यौपाने र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको उपस्थिति रहेको थियो।