बागमती प्रदेश सरकारले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि थप १ करोड ८० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो रकम भरतपुर महानगरपालिकालाई चालु आर्थिक वर्षमा खर्च गर्न अख्तियारी दिने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार यो रकम प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच गत कात्तिकमा भएको सहमति अनुसार थप गरिएको हो। यसअघि प्रदेश सरकारले रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ।
रंगशालाको पहिलो चरणको निर्माणका लागि कुल ७५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसमध्ये ७०% रकम प्रदेश सरकारले र ३०% महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ। पहिलो चरणमा १० हजार दर्शक क्षमताको प्याराफिट, क्रिकेट पिच र मैदान निर्माण गरिने योजना रहेको छ।
यसैबीच, बैठकले शासकीय सुधार तथा सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ। साथै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद कुमार भट्टराईको थाइल्याण्ड भ्रमण पनि स्वीकृत गरिएको छ।