मकवानपुर बागमती गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट विवाद चर्किँदै अदालत पुगेको छ। गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनासहित चार जना वडाध्यक्षले उच्च अदालत पाटनको हेटौंडा इजलासमा रिट निवेदन दायर गरेका छन्।
आइतबार दायर गरिएको रिटमा गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान र गाउँ कार्यपालिकालाई विपक्षी बनाइएको छ। रिट निवेदकहरूमा उपाध्यक्ष तिमल्सिनाका साथै वडा ६, ७, ८ र ९ का वडाध्यक्षहरू रहेका छन्।
रिट निवेदनमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत आवश्यक समितिहरू गठन नगरी गैरकानुनी तरिकाले नीति, कार्यक्रम र बजेट ल्याउन लागिएको आरोप लगाइएको छ। साथै, उपाध्यक्षको संयोजकत्वमा हुनुपर्ने बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक नै नबसेको र वडा समितिहरूलाई समयमै बजेट सीमा उपलब्ध नगराइएको दाबी गरिएको छ।
गत असार १० गते गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। सोही दिन उपाध्यक्षसहित केही वडाध्यक्षहरू गाउँपालिका कार्यालयभित्र धर्नामा बसेका थिए।
रिट निवेदकहरूले अदालतसँग अन्तरिम आदेश जारी गरी उक्त नीति, कार्यक्रम र बजेटको कार्यान्वयन रोक्न माग गरेका छन्। अधिवक्ता मदनकुमार दाहालका अनुसार यस मुद्दाको सुनुवाइ सोमबार हुनेछ।








