हेटौंडा/कमाने वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको छ। ५१ वटा सूचक पूरा गरेपछि असार २९ गते यस वडालाई औपचारिक रूपमा बालमैत्री घोषणा गरिने भएको हो।
आज पत्रकार सम्मेलन गरि जानकारी दिनुभएको हो। वडाध्यक्ष राम थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रम हुने जानकारी दिइएको छ।
वडामा १९ वटा टोल विकास संस्थामा २१ वटा बाल समूह गठन गरिएको छ। प्रत्येक समूहमा २५ जना सदस्य रहेका छन्। यी समूहले डेढ वर्षदेखि वडालाई बालश्रम र बालविवाहमुक्त बनाउन विभिन्न गतिविधिहरू सञ्चालन गरेका छन्।
अभियानको फलस्वरूप एक वर्षको अवधिमा १२ जना बालश्रमिकलाई परिवारमा पुनः स्थापित गरिएको छ। साथै, चालु आर्थिक वर्षमा ३ वटा बालविवाह रोकिएको छ।
यस अभियानका लागि वडा तथा टोल विकास संस्थाहरूले एक वर्षमा करिब ३१ लाख ७६ हजार रुपैयाँ खर्च गरेको जानकारी दिइएको छ।