हेटौंडा/ नवोदय इनोभेसन सेन्टरले हेटौंडा-४ मा एक वर्षे प्राथमिक शिक्षक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। आधारभूत तह कक्षा ४ देखि ७ सम्मका लागि सक्षम र बालकेन्द्रित शिक्षक तयार गर्ने उद्देश्यले यो डिप्लोमा कोर्स सुरु गर्न लागिएको हो।
तालिम कार्यक्रम प्रमुख नरेन्द्र कुमार नगरकोटीका अनुसार, २४ जना प्रशिक्षार्थीलाई तालिम दिइनेछ र भर्नाका लागि रजिस्ट्रेसन खुला गरिएको छ। तालिम पश्चात सहभागीहरूलाई रोजगारीको व्यवस्था पनि गरिने जनाइएको छ।
कार्यक्रममा शिक्षा दर्शन, भाषा साहित्य, विज्ञान, सामाजिक अध्ययन, गणित, शारीरिक शिक्षा, संगीत, कला, नृत्य, बालविकास लगायतका विषयहरू समावेश गरिएको छ।
सहभागीहरूले मासिक ५,५५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यस तालिमले प्राथमिक शिक्षामा गुणस्तर सुधार ल्याउने अपेक्षा गरिएको छ।
हेटौडामा यो नौलो र पहिलो अभ्यास रहेको आयोजकले जनाएको छ।