हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ लाई शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। यो उपमहानगरकै पहिलो बालमैत्री वडा बनेको छ।
चन्द्रोदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले वडालाई बालमैत्री घोषणा गर्नुभएको हो।
उहाँले निकट भविष्यमा सम्पूर्ण उपमहानगरलाई नै बालमैत्री बनाउने योजना रहेको बताउनुभयो। मेयर लामाले बालबालिकालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ।
कार्यक्रमका सभाध्यक्ष रामकृष्ण थापाका अनुसार, वडाले बालमैत्री घोषणाका लागि आवश्यक ५१ मध्ये ४६ सूचक शतप्रतिशत र बाँकी ५ सूचक ९० प्रतिशतभन्दा बढी पूरा गरेको बताउनुभएको छ।
कार्यक्रममा विशिष्ट अतिथि उपमेयर राजेश बानिया, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल वडा अध्यक्ष,टोल विकासका अध्यक्ष, लगायतको उपस्थिति थियो। वडाले २०७९ मंसिर १८ गतेदेखि बालमैत्री वडा घोषणाको अभियान सुरु गरेको थियो।
वडाध्यक्ष थापाले बालमैत्री वडाको दिगोपना कायम राख्नु चुनौतीपूर्ण रहेको तर वडा यसप्रति प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा सहयोग गर्ने समितिहरू लाई सम्मान तथा कदरपत्र दिएको थियो। 








