हेटौंडा उपमहानगरपालिकाका सबै १९ वडामा १६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाले पूर्ण खोप पाएको घोषणा गरिएको छ। आइतबार उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले यो घोषणा गरेकी हुन्।
प्रमुख लामाले खोपको महत्व बताउँदै यसले स्वास्थ्यको मजबुत आधार तयार गरेको उल्लेख गरिन्। उनका अनुसार यो उपलब्धि बालमैत्री वडा घोषणाको एक महत्वपूर्ण कदम हो।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर घिमिरेले वार्षिक घरधुरी सर्वेक्षण गरी बालबालिकालाई खोप सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। उनले आगामी वर्षको नीति तथा कार्यक्रममा विपन्न जेष्ठ नागरिकका लागि निःशुल्क निमोनिया खोप सेवा समावेश गरिएको जानकारी दिए।
पूर्ण खोप अन्तर्गत १६ महिनादेखि १६ वर्षसम्मका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोपहरू समयमै लगाएको हुनुपर्छ।
कार्यक्रममा १९ वटै वडाका वडा अध्यक्षहरू स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको थियो।