नेकपा एमाले मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा गरिएको व्यापक कर्मचारी कटौतीको कडा विरोध गरेको छ।
पार्टीले एक विज्ञप्ति जारी गर्दै यस कदमले नागरिकहरूको स्वास्थ्य सेवा पाउने मौलिक हक कुण्ठित हुने चेतावनी दिएको छ।
प्राप्त जानकारी अनुसार, हेटौंडा अस्पतालबाट १४५ जना कर्मचारीलाई सेवाबाट हटाइएको छ। यसले अस्पतालको आकस्मिक सेवा, ओपीडी र ल्याब सेवाहरू गम्भीर रूपमा प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।
एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्री र स्वास्थ्य सचिवद्वारा लिइएको यो निर्णयलाई “हचुवाको भरमा” र “अमानवीय” भनी आलोचना गरिएको छ।
“वर्षायाममा आपतकालीन सेवाका लागि बढी जनशक्ति आवश्यक पर्ने बेलामा यस्तो कदम चाल्नु अत्यन्त गैरजिम्मेवार कार्य हो,” पोखरेलले भने। उनले यो निर्णय राजनीतिक पूर्वाग्रहका आधारमा लिइएको आरोप समेत लगाए।
एमालेले तत्काल यो निर्णय सच्याउन, हटाइएका कर्मचारीहरूलाई पुनर्बहाली गर्न र बिरामीहरूको बढ्दो चापलाई ध्यानमा राख्दै अस्पतालको सेवा निरन्तर राख्न माग गरेको छ। पार्टीले चेतावनी दिँदै भनेको छ, “यदि यो माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं।”







