हेटौंडा राइडर्स क्लबले आयोजना गर्ने कोरा-२०२४ को सातौं संस्करण आउँदो शनिबार हेटौंडामा हुने भएको छ। “यो प्रतियोगिता होइन, सबै विजेता हुन्” भन्ने नारासहित आयोजना हुन लागेको यस साइकल यात्राले शहरलाई साइकलमैत्री बनाउने र स्थानीय तीर्थस्थल एवं बस्तीहरूको पहिचान बढाउने लक्ष्य राखेको छ।
क्लबका अध्यक्ष विकास ताम्राकारका अनुसार करिब ५० किलोमिटर लामो यस र्यालीमा चितवन, बारा, पर्सा र काठमाडौंबाट गरी २५० भन्दा बढी साइकल यात्रीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। १२ वर्षमाथिका सबै उमेर समूहका महिला र पुरुषहरूले यसमा भाग लिन सक्नेछन्।
र्याली भुटनदेवी मन्दिरबाट सुरु भई हेटौंडाका विभिन्न स्थान हुँदै लक्ष्मण साइकल अगाडि सम्पन्न हुनेछ। सहभागीहरूलाई नि:शुल्क जर्सी उपलब्ध गराइनेछ। आयोजकका अनुसार कार्यक्रमको लागि अनुमानित ५ लाख रुपैयाँ खर्च हुने अपेक्षा गरिएको छ।
हालसम्म २०० जनाले नाम दर्ता गराइसकेको र थप सहभागीहरूको अपेक्षा गरिएको अध्यक्ष ताम्राकारले जानकारी दिए। यो आयोजनाले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको ताम्राकार बताउँछन् ।