काठमाडौं । नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाडौंले महिला क्रिकेटरहरूलाई ६ महिना निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ । यो घोषणा महिला क्रिकेटर सम्झना खड्काले एशिया कपमा नेपाललाई ऐतिहासिक जित दिलाएको अवसरमा गरिएको हो ।
सम्झना खड्काले युएईविरुद्धको खेलमा ४५ बलमा ७२ रनको नटआउट पारी खेल्दै नेपाललाई पहिलो जित दिलाइन् । यो उनको करियरको पहिलो अन्तरराष्ट्रिय अर्धशतक र नेपालको एशिया कपमा पहिलो अर्धशतक हो ।
नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले भने, “सम्झना र नेपाली महिला टिमको सफलतालाई अविस्मरणीय बनाउन हामीले यो निर्णय गरेका हौं । एकेडेमीमा प्रशिक्षण गर्न चाहने सबै महिला क्रिकेटरहरूलाई निःशुल्क प्रशिक्षण दिइनेछ ।”
उल्लेखनीय छ, सम्झना खड्काले केही महिना नेक्ससको होस्टेलमा बसेर प्रशिक्षण लिएकी थिइन् । अब महिला क्रिकेटरहरूलाई नेक्ससमा विदेशी प्रशिक्षकहरूले तालिम दिने जनाइएको छ ।