हेटौंडामा आज शनिबार हेटौंडा राइडर्स क्लबले आयोजना गरेको हेटौंडा कोरा साइकल च्यालेन्ज-२०२४ सफलतापूर्वक सम्पन्न भएको छ।
हेटौंडा उपमहानगरपालिका वडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन र नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरिएको हो ।

“दिस इज नट अ रेस, एभ्रीवन इज अ विनर” भन्ने नाराका साथ आयोजित यस साइकल र्यालीमा १२ वर्षमाथिका महिला र पुरुषहरूको उत्साहजनक सहभागिता रहेको क्लबका अध्यक्ष विकास ताम्राकारले जानकारी दिए।
र्याली भुटनदेवी मन्दिरबाट सुरु भई हेटौंडा बजार, सानोपोखरा, बनस्खण्डी, जलेश्वर महादेव मन्दिर हुँदै विभिन्न स्थानहरू पार गर्दै राईडर्स चोक लक्ष्मण साइकलमा पुगेर समापन भयो।
नेपाल प्रहरी र ट्राफिक प्रहरीको सुरक्षा व्यवस्थापनमा सुरक्षित रूपमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष ताम्राकारले बताए। समापनमा सहभागीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।







