वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आइतबार प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्। हेटौंडास्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मतको सामना गर्नेछन्।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै जम्कट्टेल नेतृत्वको सरकार संकटमा परेको हो। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलको पक्षमा केवल ३० सांसद मात्र रहेका छन्। नेकपा माओवादी केन्द्रको २१, नेकपा (एकीकृत समाजवादी) को ७ र हाम्रो नेपाली पार्टीको २ सांसद उनको पक्षमा छन्।
नेपाली कांग्रेस (३७ सांसद), एमाले (२७ सांसद) र राप्रपा (१३ सांसद) ले जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्। सरकार गठनका लागि आवश्यक ५६ सांसदको संख्या कांग्रेस र एमालेको मात्रै मिल्दा पुग्ने देखिन्छ।
विश्वासको मत गुमाएपछि जम्कट्टेल मुख्यमन्त्रीबाट प्रमुख प्रतिपक्षी दलको नेतामा पुग्नेछन्। नयाँ समीकरण अनुसार कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना छ।
गत असार २४ गते एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि अल्पमतमा परेका जम्कट्टेलले संविधान बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए। २०७९ पुसमा मुख्यमन्त्री बनेका जम्कट्टेलले यसअघि तीन पटक विश्वासको मत लिएर सरकार जोगाए पनि यसपटक भने पद गुमाउने लगभग निश्चित देखिन्छ।