नेपाली कांग्रेसले वाग्मती प्रदेशको आगामी मुख्यमन्त्रीको रूपमा बहादुरसिंह लामालाई अघि सारेको छ। आइतबार बसेको संसदीय दलको बैठकले दलका नेता लामालाई मुख्यमन्त्री पदका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो।
केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेसँगै वाग्मती प्रदेशमा पनि सरकार परिवर्तन हुन लागेको छ। यो वाग्मती प्रदेशमा पहिलो पटक कांग्रेस नेतृत्वको सरकार बन्न लागेको हो।
वर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन्। कांग्रेसले आफ्ना सांसदहरूलाई जम्कट्टेलको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
११० सदस्यीय प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन्। यी दुई दल मिल्दा बहुमतका लागि आवश्यक ५६ मत सहजै पुग्ने देखिन्छ।
कांग्रेस, एमाले र राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने स्पष्ट पारिसकेका छन्।