चितवनको भरतपुर-११ स्थित आरम्भ कलेजले “पढ्दै कमाउँदै” नारालाई साकार पार्दै विद्यार्थीहरूलाई सीपयुक्त रोजगारीमा जोड्ने उद्देश्य अघि सारेको छ। आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा कलेजले यस बारे जानकारी दिएको हो।
कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले होटल म्यानेजमेन्ट (बीएचएम) र इन्फर्मेशन म्यानेजमेन्ट (बीआईएम) विषयको अध्ययनले विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्ने बताए। उनका अनुसार बीएचएमको शुल्क ७ लाख ५० हजार र बीआईएमको ६ लाख रुपैयाँ निर्धारण गरिएको छ।
कलेजले स्थापना वर्षमै १ करोड ३१ लाख रुपैयाँको छात्रवृत्ति वितरण गरेको र यस वर्ष २५ जनालाई ५० हजारका दरले छात्रवृत्ति दिने योजना रहेको जनाएको छ। मकवानपुरका विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा हाल १३१ विद्यार्थी अध्ययनरत छन्। चितवन, मकवानपुर, नवलपरासी र आसपासका जिल्लाबाट विद्यार्थीहरू अध्ययन गर्न आएका छन्।
१२ कठ्ठा क्षेत्रफलमा फैलिएको कलेज परिसरमा बास्केटबल कोर्ट, फुटसल मैदान, पौडी पोखरी र सभाहल निर्माण गरिएको छ। सबै कक्षाकोठाहरूमा एयर कन्डिसनर जडान गरिएको छ।
कार्यक्रममा कलेजका निर्देशकहरू, नेपाल पत्रकार महासंघका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।