प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशको विकासका लागि युवा शक्तिको आवश्यकता रहेको बताउनुभएको छ।
युवा परिषद् बागमती प्रदेशको युवा सीप वर्ष २०८१ को दीक्षान्त समारोहमा बोल्नुहुदै उहाँले युवाहरूको सीप र ऊर्जा आफ्नै देशमा खर्चिनुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ
“देशलाई युवामैत्री सरकार चाहिएको छ। युवाहरूको सीपले देशलाई समृद्ध बनाउँछ,” घिमिरेले बताउनुभयो
यस अवसरमा प्रदेश युवा परिषद् बागमतीले आयोजना गरेको विभिन्न तालिमहरू लिएका २ हजार युवाहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। परिषद्ले प्रदेशका विभिन्न जिल्लाहरूमा मन्टेश्वरी, ब्युटिसियन, टेलरिङ, बारिष्ठा, फेसन डिजाइनर लगायतका तालिमहरू सञ्चालन गरेको थियो।

कार्यक्रममा संघीय संसदका मुख्य सचेतक महेश कुमार बर्तौला, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया र नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ लगायतको उपस्थिति शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्षमा सन्तोष चौलागाईको सभाध्यक्षमा सम्पन्न भएको छ ।







