हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले वर्तमान गठबन्धन स्थायित्वका लागि बनेको बताएका छन्। स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसद्वारा आयोजित फोटोग्राफी तालिमको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
थपलियाले भने, “स्थायी सरकार बनाएर जनताको विश्वास जित्न र स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न हामी प्रतिबद्ध छौं।” उनले बागमती प्रदेश सरकारले स्वरोजगार प्रवर्द्धनका लागि बजेट छुट्याएको जानकारी दिँदै विदेश पलायन रोक्न सरकार प्रयासरत रहेको बताए।
फोटोग्राफी तालिमको प्रशंसा गर्दै थपलियाले यसले युवाहरूलाई विश्वव्यापी पहिचान बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले सहभागीहरूलाई सिकेको सीपलाई सार्थक ढंगले उपयोग गर्न सुझाव दिए।
कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका अध्यक्ष अभि मैनाली, क्याम्पस प्रमुख देविराम लामा, गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष आरती पाठक लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो। सात दिने यस तालिममा ७५ जना सहभागी थिए।