हेटौंडा-५ पिप्लेस्थित हेटौंडा सिटी कलेजका कानून संकायका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।
कलेजकी विद्यार्थी मधुमित्ता यादवले ३.६६ जिपिए प्राप्त गरी जिल्लामै उत्कृष्ट नतिजा ल्याएकी छिन्।
कलेजले शतप्रतिशत उत्तीर्ण दर हासिल गरेको खुशीयालीमा सोमबार हेटौंडा बजार परिक्रमा गरेको छ। प्रभातफेरीले शहरका प्रमुख चोकहरू परिक्रमा गरेको थियो।
कलेजका प्रशासन प्रमुख सुमन्त सिलवालका अनुसार, विसं २०७९ देखि कक्षा ११ र १२ मा अंग्रेजी माध्यमबाट कानून संकाय सञ्चालन गरिएको हो। “पहिलो वर्षमै १० जना विद्यार्थीलाई अध्यापन गराउँदा जिल्ला उत्कृष्ट र शतप्रतिशत नतिजा हासिल गर्न सफल भयौं,” उनले भने। एक विद्यार्थीले ए प्लस र दुई जनाले ए ग्रेड प्राप्त गरेका छन्।

कानून संकायका प्रमुख हेमन्त ढुंगेलले मकवानपुरमा अंग्रेजी माध्यमबाट कानून अध्यापन गराउने एकमात्र कलेज भएको बताए। उनले आगामी दिनमा पनि शतप्रतिशत नतिजा ल्याउने लक्ष्य राखेको जानकारी दिए।
यस सफलताले हेटौंडा सिटी कलेजको शैक्षिक गुणस्तर र प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ, जसले स्थानीय स्तरमा गुणस्तरीय कानूनी शिक्षाको उपलब्धतालाई सुनिश्चित गरेको ढुङ्गेल बताउँछन्।








