बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा गोष्ठी आज सम्पन्न गरेको छ।
निर्देशनालयका प्रमुख डा. गौरीमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रदेशका विभिन्न जिल्लाका पशुसेवा कार्यालयहरूले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि मन्त्री प्रकाश श्रेष्ठले ८०-८५% प्रगति भएको देखिए पनि यसलाई अझै बढाउनुपर्ने बताए। उनले गुणस्तरीय काममा जोड दिनुपर्ने र प्राविधिक मैत्री कार्य गर्नुपर्नेमा जोड दिए। मन्त्री श्रेष्ठले महिला समूह र कृषि सहकारी मार्फत कार्यक्रम सञ्चालन गर्न र आम नागरिकको सन्तुष्टि हुनेगरी काम गर्न निर्देशन दिएका छन्।
मन्त्रीले कानुन र नियम बमोजिम काम गर्न, निर्माण भएका संरचनाहरू तुरुन्तै हस्तान्तरण गर्न र प्रदेशबाट स्थानीय तहमा गएको खर्चको कडा नियमन र अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। उनले राम्रो काम गर्नेलाई प्रोत्साहन गरिने र सबैको साथ र सहयोग रहने बताए।
गोष्ठीमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, ललितपुर, काभ्रे, दोलखा र सिन्धुलीका पशुसेवा कार्यालयहरूले आफ्नो प्रगति विवरण पेश गरेका थिए। यसैगरी मत्स्य विकास केन्द्र भण्डारा, कुलेखानी,बाख्रा विकास फार्म चितलाङ र पशुसेवा तालिम केन्द्र ललितपुरले पनि आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।