हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा अनलाइन ठगी गर्ने ९ जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ परेकाहरूमा २८ देखि ४० वर्ष उमेर समूहका नवनीत कुमार, शाहरुख खान, कुन्दन कुमार, आशिष कब्डौला, विशाल कक्कड, लोकेश कुमार दवे, विकास कुमार सिंह, अरुण कुमार र कुनाल शर्मा रहेका छन्। यस घटनामा संलग्न अन्य तीन जना फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सीताराम रिजालले जानकारी दिएका छन्।
प्रहरीले उनीहरूको साथबाट विभिन्न इलेक्ट्रोनिक उपकरणहरू जफत गरेको छ, जसमा राउटर, मोबाइल, ल्यापटप, हार्ड डिस्क लगायत सामग्रीहरू समावेश छन्।
हेटौंडा उपमहानगरपालिका-४ मा ‘असिष्ट’ नामक कम्पनी खोलेर उनीहरूले अनलाइन ठगीको कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी पक्राउ गरेको हो।
अनुसन्धानबाट खुलेको तथ्य अनुसार, उक्त समूहले नेपाली र विभिन्न देशका नागरिकहरूलाई लक्षित गरी ठगी गर्दै आएको थियो। उनीहरूले प्रयोग गरेको सफ्टवेयर मार्फत पीडितहरूको व्यक्तिगत जानकारी भारत पठाउने गरेको पाइएको छ।
कर्मचारीहरूलाई १८ देखि ५० हजार भारतीय रुपैयाँसम्म नगद तलब दिने गरेको तर कुनै आधिकारिक अभिलेख नराख्ने गरेको प्रहरीले जनाएको छ।
यो ठगी नेटवर्कको मुख्य सर्भर भारतको राँचीमा रहेको र त्यहीँबाट सञ्चालन हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले यस मामिलामा थप अनुसन्धान जारी राखेको जनाएको छ।