काठमाडौँ/रैथाने एग्री प्रडक्टस् नेपालद्वारा सञ्चालित रैथाने कृषि हाटबजार अभियानले एक वर्ष पूरा गरेको छ।
उक्त कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ को प्रमुख आतिथ्यमा भएको थियो ।
मन्त्री श्रेष्ठले यस्ता हाटबजारहरूले स्थानीय कृषकहरूको व्यवसायलाई प्रवर्द्धन गर्नुका साथै रैथाने खाद्य पदार्थहरूलाई घरघरमा पुर्याउने र अर्गानिक खाना उपलब्ध गराउने कार्यप्रति खुसी व्यक्त गर्नुभएको छ। उनले यस क्षेत्रमा रहेका चुनौतीहरूको समाधानका लागि थप प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
रैथाने एग्री प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालका अनुसार यस अभियानले हालसम्म ५० भन्दा बढी जिल्लाका ४०० भन्दा बढी रैथाने तथा स्थानीय कृषि उपजहरूको कारोबार गरिसकेको छ। यसले स्वच्छ वातावरण, स्वस्थ जीवनशैली, कृषि जैविक विविधता संरक्षण र आत्मनिर्भर कृषि व्यवस्थापनमा योगदान पुर्याउने विश्वास गरिएको छ।
अभियान अन्तर्गत काठमाडौंको दरबारमार्गस्थित ओरियन्ट क्याफे परिसरमा हरेक शनिबार बिहान ६ देखि १२ बजेसम्म हाटबजार लाग्दै आएको छ। यसले किसान र उपभोक्तालाई सिधै जोड्ने र स्थानीय कृषि उत्पादनहरूलाई बजारसम्म पुर्याउने उद्देश्य राखेको छ।
कार्यक्रममा “बागमती प्रदेशमा रैथाने कृषि: संरक्षण, प्रवर्द्धन, बजारीकरणमा देखिएका चुनौती तथा अवसर” विषयमा छलफल गरिएको थियो।