नेकपा एमालेका नेता डा. राजन भट्टराईले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूलाई प्रदेशको औचित्य पुष्टि गर्ने काम गर्न निर्देशन दिएका छन्।
हेटौंडामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै बागमती प्रदेश इन्चार्ज भट्टराईले मन्त्रीहरूलाई प्रदेशप्रति देखिएको नकारात्मक धारणा हटाउन उत्कृष्ट कार्यसम्पादन गरेर जनतामा आशा जगाउन आग्रह गरे।
उनले मन्त्रीहरूलाई आफ्नो योग्यता, क्षमता र इमान्दारिता प्रदर्शन गर्ने अवसर आएको बताउँदै जनतासँग नजिक रहेर काम गर्न सुझाव दिए। एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले यो सरकार दीर्घकालीन हुने बताउँदै “सुनौलो बागमती” निर्माणको लागि कार्यकुशल बन्न आग्रह गरे।

प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिए। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले वर्तमान गतिविधिबारे जानकारी गराए।
कार्यक्रममा एमालेका वरिष्ठ नेताहरू पार्वत गुरुङ, डोरमणि पौडेल, बाबुराम थापा, दावा दोर्जे लामा लगायत अन्य मन्त्री तथा सांसदहरूको उपस्थिति रहेको थियो।








