रोटरी क्लब अफ मकवानपुरको आयोजनामा तेश्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गरी रोटरी क्लब अफ मकवानपुरले प्रतियोगिता बारे जानकारी गराइएको हो । भाद्र २४ गतेदेखि ३१ गतेसम्म हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगिता हुने रोटरी क्लब अफ मकवानपुरका संयोजक मोहन ढकालले जानकारी दिनुभयो । जलन प्राथमिक उपचार केन्द्रको निर्माण अभियानको लागि आर्थिक संकलन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको संयोजक ढकालले बताउनुभयो ।
८ दिनसम्म १५ वटा खेल हुने प्रतियोगिताको बिजेताले नगद २ लाख २ हजार र उपबिजेताले १ लाख १ हजार पुरस्कार पाउनेछ । त्यसैगरी विधागत तर्फ सर्वोकृष्ट हुने प्रशिक्षकलाई नगद १० हजार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्स, मिडफिल्डर र फरवार्डलाई जनही ५ हजारको दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पिप्ले युवा क्लबको सहआयोजक र रोट्रयाक क्लब अफ मकवानपुरको सहकार्यमा हुन लागेको प्रतियोगिताको अनुमानित खर्च १६ लाख २८ हजार रहेको छ । यसअघि २०७२ सालमा भएको पहिलो संस्करण र २०७३ सालमा भएको दोश्रो संस्करणको उपाधि चितवन भेट्रान्स क्लबले जितेको थियो ।