मकवानपुरको मनहरी गाउँपालिकामा स्थित हाँडीखोला युथ क्लबलाई चैनपुर जेसीज मनहरीले खेलकुद सामग्री प्रदान गरेको छ। जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी हुन लागेको क्लबलाई मंगलबार एक कार्यक्रमका बीच एक सेट जर्सी र फुटबल हस्तान्तरण गरिएको हो।
कार्यक्रममा मनहरी गाउँपालिका वडा नं. ९ का अध्यक्ष राजकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। उनले खेलाडीहरूलाई अनुशासित रहँदै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। साथै, गाउँपालिकाको नाम उच्च राख्न खेल्न र आवश्यक सहयोगका लागि आफू र गाउँपालिका तत्पर रहेको बताए।
चैनपुर जेसीज मनहरीका अध्यक्ष रबिन ढकालले खेलाडीहरूको उत्साह बढाउन यो सहयोग गरिएको र भविष्यमा पनि आवश्यक सहयोग जारी रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा जेसीजका केही पदाधिकारीहरूले व्यक्तिगत रूपमा पनि आर्थिक सहयोग गरेका छन्। महासचिव कृष्णप्रसाद ढकालले २ हजार, उपाध्यक्ष नवराज रिजालले ३ हजार, अर्का उपाध्यक्ष जयराम रिजालले ५ हजार र सदस्य बालकृष्ण बिष्टले ३ हजार रुपैयाँ क्लबलाई प्रदान गरे।
हाँडीखोला युथका अध्यक्ष गणेशदर्पण अधिकारीले यस सहयोगले खेलाडीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गर्दै सबै सहयोगीप्रति आभार प्रकट गरेका छन्।