हेटौंडा – रोटरी क्लब अफ मकवानपुरद्वारा आयोजित तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता चितवन भेट्रान्सले हेटौंडा नागस्वती भेट्रान्सलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गरेको छ।
हेटौंडा-५ स्थित पिप्लेक्याम्पा रंगशालामा आयोजित उद्घाटन खेलमा नागस्वती भेट्रान्सले सुरुवाती अग्रता लिए पनि चितवन भेट्रान्सले टाइब्रेकरमार्फत जित निकाल्न सफल भयो।
प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी हिन्। उनले खेल क्षेत्रका लागि उपमहानगरपालिकाको पूर्ण सहयोग रहने बताइन्।
भदौ ३१ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा १५ टिमको सहभागिता छ। विजेताले २ लाख २ हजार २२२ र उपविजेताले १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन्।
यस प्रतियोगितामा पहिलो र दोस्रो संस्करणमा उपाधि जितेको चितवन भेट्रान्स क्लबले उत्कृष्ट सुरुवात गरेको छ।
उक्त प्रतियोगिता मोहन ढकालको संयोजकतामा भएको हो भने रोटरियन अनिल अग्रवालको सभाध्यक्षमा कार्यक्रम भएको थियो। कार्यक्रमा वडा अध्यक्ष, सदस्य, संघसंस्थाका प्रतिनिधि, रोट्री तथा रोटट्र्याकका अध्यक्षहरू अतिथिका रूपमा उपस्थित भएका थिए।