हेटौंडाको एफसी पोताला फुटबल क्लब समूह क मा शीर्ष स्थानमा यथावत् रहेको छ। चार खेल खेलेको पोतालाले १० अंक बटुलेको छ।
बुधबार भएको खेलमा पोतालाले हेटौंडा भेट्रान्सलाई १०-१ को फराकिलो अन्तरले पराजित गर्यो। यस जितसँगै पोताला शीर्ष स्थानमा कायम रहेको हो।
खेलमा पोतालाका ऋषि मोक्तानले ५ गोल गरे भने दावा लामाले ह्याट्रिक पूरा गरे। प्रितम स्याङ्बो र पाल्देन लामाले एक-एक गोल थपे। उत्कृष्ट प्रदर्शन गरेका ऋषि मोक्तान खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।
समूह क मा सक्षम युवा क्लब नेवारपानी ६ अंकसहित दोस्रो स्थानमा छ। उसले एक खेल कम खेलेको छ। परेली क्लब बस्तीपुर ५ अंकसहित तेस्रो स्थानमा रहेको छ। परेलीले पनि एक खेल कम खेलेको छ।
राप्तीरिभर क्लब (आरआर वाइसी) ले नियम विपरित खेलाडी खेलाएको भन्ने उजुरीको निर्णय अझै आएको छैन। यही समूहमा एफसी इन्टरनेटको ३ खेलबाट ४ अंक छ भने आरआर एफसी र विजय युथको १-१ अंक रहेको छ।