बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले आशा विशेष पाठशालाले शारीरिक रूपमा अशक्त बालबालिकाहरूको लागि सरकारी दायित्व निर्वाह गरेको बताएका छन्।

हेटौंडा-७ स्थित आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले यस्तो बताएका हुन्। उनले पाठशालाको कामको प्रशंसा गर्दै आगामी दिनमा प्रदेश सरकारले नीतिमा आधारित बजेट छुट्याउने प्रतिबद्धता जनाए।
स्पेनिस नागरिक आइना बार्काले सन् २०१३ मा स्थापना गरेको यो पाठशालाले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्दै आएको छ। आइनाले नेपाल भ्रमणका क्रममा यस्ता बालबालिकाहरूको अवस्था देखेपछि यो पाठशाला स्थापना गरेकी हुन्।
हाल आशा फाउण्डेशनले हेटौंडासँगै ललितपुरको सानेपामा पनि केन्द्र सञ्चालन गरी १८ वर्षमाथिका शारीरिक तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ।
आशा विशेष पाठशालाका अध्यक्ष बालकृष्ण चौलागाईंले मन्त्री काफ्लेको प्रतिबद्धता अनुसार प्रदेश सरकारबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।








