मकवानपुर – राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुरले सिस्नेरी पहिरोमा ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ (एन्फा) फुटबल एकेडेमीका ६ जना विद्यार्थीहरुको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले भने, “हामीले गत शनिबार सिस्नेरीमा भएको दुःखद घटनामा ज्यान गुमाएका ती युवा खेलाडीहरुको सम्झनामा दीप प्रज्वलन गरेका छौं।”
गत हप्ता इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीस्थित एन्फा एकेडेमीमा आएको पहिरोमा परी ६ जना युवा फुटबल खेलाडीको निधन भएको थियो। यो घटनाले समग्र राष्ट्रलाई शोकमा डुबाएको छ।
नगरकोटीका अनुसार, श्रद्धाञ्जली कार्यक्रममा स्थानीय नागरिक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो। सहभागीहरुले मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।
“यो दुःखद घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ,” नगरकोटीले भने, “यस्ता प्राकृतिक विपत्तिबाट सुरक्षित रहन हामी सबै सचेत र तयार रहनुपर्छ।”