पदमपोखरी युवा क्लबले मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको पाँचौं संस्करणको उपाधि जितेको छ। शनिबार हेटौंडा-५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलमा पदमपोखरीले सहिद स्मृति क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्यो।
३५ दिनसम्म चलेको यस लिगमा कुल ९१ खेल भए। मकवानपुरका २८ वटा क्लबले सहभागिता जनाएका थिए। यो जितसँगै मकवानपुरमा जिल्ला लिगको एक चक्र पूरा भएको छ। आगामी वर्षदेखि मकवानपुरमा ए, बी र सी डिभिजनमा टोलीहरू विभाजित हुने भएका छन्। यस वर्षदेखि नै लिगमा रेलिगेशनको प्रावधान राखिएको थियो।
विजेता पदमपोखरीले एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता सहिद स्मृति क्लब वाग्मतीले ५० हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो। पदमपोखरीले अब बागमती प्रदेश लिग पनि खेल्ने मौका पाएको छ।
खेलको २४ औं मिनेटमा दिवश गोलेले गोल गरी पदमपोखरीलाई अग्रता दिलाए। ३९ औं मिनेटमा उप्रान्त आलेले उत्कृष्ट गोल गर्दै सहिद स्मृतिलाई खेलमा फर्काए। तर दोस्रो हाफमा पदमपोखरीले थप दुई गोल गर्यो। ६८ औं मिनेटमा विजेश तितुङले गोल गरी अग्रता दोब्बर बनाए भने अतिरिक्त समयको अन्तिम मिनेटमा विकी जिम्बाले निर्णायक गोल गरे।
फाइनल खेलको म्यान अफ द म्याच पदमपोखरीका विजेश तितुङ घोषित भए। पदमपोखरीकै रोजक थिङ उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी बने। नमराज थिङ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भए। वाग्मतीका अरुण आले उत्कृष्ट डिफेण्डर र उप्रान्त आले उत्कृष्ट फरवार्ड बने।
प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा र प्रतियोगिता संयोजक युवराज लामा लगायतले पुरस्कार वितरण गरे।