असोज १२ गते आएको भीषण बाढीले क्षति पुर्याएको कान्तिलोकपथ अन्तर्गतको बागमती (बगुवा) पुल पुनः सञ्चालनमा आएको छ। बाढीले पुलको एउटा स्पान र मकवानपुरतर्फको करिब ५० मिटर सडक बगाएपछि कान्तिलोकपथ पूर्णरूपमा अवरुद्ध बनेको थियो।
क्षतिग्रस्त भागमा डाइभर्सन निर्माण गरी सोमबार रातिदेखि सवारी साधनहरू सञ्चालनमा आएका छन्। यो सडकखण्ड खुलेसँगै सिस्नेरी, फाखेल, भीमफेदी सडकखण्ड र त्रिभुवन राजपथमा देखिएको सवारी चाप कम हुने अपेक्षा गरिएको छ।
पुल र सडक क्षतिग्रस्त हुँदा विगत १० दिनदेखि मकवानपुर र ललितपुरबीचको यातायात सम्पर्क विच्छेद भएको थियो। इलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहालका अनुसार सोमबार बिहानसम्म एउटा तेल ट्याङ्कर, ४ वटा चारपाङ्ग्रे सवारी र दुई दर्जनभन्दा बढी मोटरसाइकल तथा स्कुटरलाई पास गराइएको छ।
कान्तिलोकपथ आयोजनाका एक इन्जिनियरले जानकारी दिएअनुसार वाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडकको पुनर्निर्माण कार्य मंगलबार बिहान १ बजे सम्पन्न भएपछि सवारी साधनहरूको आवागमन सुरु भएको हो। तर व्यवस्थित रूपमा यातायात सञ्चालन मंगलबार दिउँसोदेखि मात्रै हुने उनले बताए।
नेपाली सेना विगत चार दिनदेखि पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडकखण्डको पुनर्निर्माणमा खटिएको थियो। सडक मर्मतका लागि आवश्यक जनशक्ति र उपकरण नेपाली सेनाले उपलब्ध गराएको थियो भने निर्माण सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको थियो।