हेटौंडा जेसीजले आगामी सोमबारदेखि ‘जेसीज सप्ताह २०२४’ मनाउने भएको छ। कार्तिक ६ गतेदेखि ९ गतेसम्म चल्ने यस कार्यक्रममा विभिन्न गतिविधिहरू आयोजना गरिने भएको छ।
हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठले पत्रकार सम्मेलनमार्फत जानकारी दिए अनुसार, यस वर्ष चार दिनमा सात वटा कार्यक्रम आयोजना गरिनेछ। यी कार्यक्रमहरूमा साइकल रेस, वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सामग्री वितरण, रक्तदान, स्लो मोटरसाइकल रेस र लागुपदार्थ दुर्व्यसनी सम्बन्धी जनचेतना कार्यक्रम समावेश छन्।
कार्यक्रमको उद्घाटन कार्तिक ६ गते हेटौंडा-५ सिँचाई टोलबाट मनकामना मन्दिरसम्म हुने साइकल रेसबाट हुनेछ। अन्तिम दिन कार्तिक ९ गते पुरस्कार तथा प्रमाणपत्र वितरण गरी समापन गरिने जनाइएको छ।
जेसी विवेक आनन्द न्यौपाने र आतिस दाहालको संयोजकत्वमा यी कार्यक्रमहरू सञ्चालन हुने बताइएको छ। विगत वर्षहरूमा सातै दिन कार्यक्रम गरिँदै आएकोमा यस वर्ष चार दिनमा सीमित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।