मकवानपुरको मनहरीमा दोस्रो संस्करणको चैनपुर जेसीज कप खुला फुटबल प्रतियोगिता हुने भएको छ। चैनपुर जेसीज मनहरीको आयोजनामा कात्तिक २३ गतेदेखि मनहरी-४ स्थित गोलघर खेल मैदानमा प्रतियोगिता सुरु हुनेछ।
जेसीजका अध्यक्ष रविन ढकालका अनुसार प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ। विजेता टिमले १ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा सहभागी हुन चाहने टिमले कात्तिक २० गतेसम्म ७ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेर नाम दर्ता गराउन सक्नेछन्। महासचिव श्रीकृष्ण ढकालका अनुसार प्रतियोगिताका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
मनहरी गाउँपालिका वडा नं. ४ ले प्रतियोगिताको मुख्य प्रायोजन गर्ने भएको छ। प्रतियोगिताको संयोजक कार्यकारिणी उपाध्यक्ष महेश खुलाल रहेका छन्।
अध्यक्ष ढकालले फुटबल खेलको विकास र युवाहरूबीच भ्रातृत्व सम्बन्ध बढाउन यो प्रतियोगिता आयोजना गरिएको बताए। गत वर्ष भएको पहिलो संस्करणको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको थियो।