बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यकालमा विभिन्न महत्वपूर्ण निकायहरूमा पदपूर्तिलाई प्राथमिकतामा राखेको छ। सरकारले यस अवधिमा मुख्य न्यायाधिवक्तादेखि लोक सेवा आयोगको अध्यक्षसम्म विभिन्न पदमा नियुक्तिहरू गरेको छ।
सरकारले सर्वप्रथम भदौ २ गते दोलखा तामाकोशीका शुकदेव काफ्लेलाई संविधानको धारा १६० (२) बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको छ । गत भदौ १६ मा प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्ष सहित २ सदस्य नियुक्त गरेको थियो। आयोगको उपाध्यक्षमा सिन्धुपाल्चोक हेलम्बुका डा. गंगादत्त नेपाललाई जिम्मेवारी दिइयो भने सदस्यहरूमा काठमाडौंका दीपेन्द्र श्रेष्ठ र काभ्रेका गुणराज मोक्तान चयन भए। यी मध्ये नेपाल र मोक्तान कांग्रेस निकट मानिन्छन् भने श्रेष्ठ एमाले निकट हुन्।
खेलकुद क्षेत्रमा पनि सरकारले महत्वपूर्ण नियुक्ति गर्यो। भदौ २६ मा प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नुवाकोटका दीपक लामा नियुक्त भए। कांग्रेस निकट लामालाई मुख्यमन्त्री लामाकै विशेष पहलमा यो जिम्मेवारी दिइएको बताइन्छ।
स्वास्थ्य क्षेत्रमा पनि सरकारले महत्वपूर्ण नियुक्तिहरू गरेको छ। असोज १६ मा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्त गरेको छ । दुई महिनादेखि रिक्त रहेको यो पदमा एमाले कोटाबाट ज्ञवालीलाई ल्याइएको हो। त्यसैगरी प्रतिष्ठानको संयोजकमा एमालेकै चिरञ्जीवी चुडाल र रजिस्ट्रारमा कांग्रेस निकट भिमसागर गुरागाईँ नियुक्त गरेको छ ।।
शैक्षिक क्षेत्रमा पनि सरकारले नियुक्ति गरेको छ। असोज १ मा बागमती विश्वविद्यालयको उपाध्यक्षमा कांग्रेस निकट कुसुमराज सुवेदी नियुक्त भए। सरकारले पछिल्लो पटक कात्तिक ४ मा लोक सेवा आयोगको अध्यक्षमा कांग्रेस निकट महेश्वर श्रेष्ठलाई नियुक्त गरेको छ। श्रेष्ठ यसअघि ११ औं तहका सहसचिव थिए।
यी नियुक्तिहरूमा कांग्रेस र एमाले दुवै दलका व्यक्तिहरूलाई समेटिएको छ।







