मकवानपुरका किसानहरू चाडपर्व सकेर धान कटानीमा व्यस्त छन्। हेटौँडा–२, मानस चोकका अचुत रिजालले ले तिहारअघि नै काटेको धान थ्रेसर लगाएर भित्र्याउने काम गरिरहेका छन्। १० कट्ठामा लगाएको धान यसपटक मनग्गे फलेको बताउँदै उनले खुसी व्यक्त गरे। विगत वर्षहरूको तुलनामा यस वर्ष समयमै र पर्याप्त पानी परेकाले पोहोर-परारभन्दा बढी धान फलेको उनको भनाइ छ।
फाँट गुरौ खोलाछेउको जग्गामा मेसिनले धान काटिरहेका किसान विकास श्रेष्ठले पनि यस वर्षको उत्पादन राम्रो भएको बताए। तर बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार प्रदेशको समग्र धान उत्पादनमा कमी आउने देखिएको छ।
यस वर्ष बागमती प्रदेशमा एक लाख ११ हजार तीन सय ५१ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो। तर बाढीपहिरोका कारण पाँच हजार पाँच सय तीन हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ। प्रवक्ता कँडेलका अनुसार मकवानपुर, नुवाकोट, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुली र धादिङ जिल्लामा बाढीपहिरोले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ।
बाढीपहिरोबाट सबैभन्दा बढी मकवानपुरमा दुई हजार ९०२.८३ हेक्टर धानखेती प्रभावित भएको छ। यस्तै सिन्धुलीमा आठ सय ५५ हेक्टर, काभ्रेमा ६ सय २.१ हेक्टर र ललितपुरमा दुई सय ११.५ हेक्टर धानखेतीमा क्षति पुगेको छ। नुवाकोटमा एक सय ९८.२२ हेक्टर, धादिङमा एक सय ८४ हेक्टर र रामेछापमा एक सय ५७.५५ हेक्टर धानखेती बाढीपहिरोबाट प्रभावित भएको मन्त्रालयले जनाएको छ।







