मनहरी गाउँपालिका-४ स्थित गोलघर खेल मैदानमा जारी दोस्रो चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगितामा ढेंडो एफसी हेटौंडा र परेली युवा क्लब बस्तिपुरले क्वाटरफाइनल यात्रा तय गरेका छन्।
आइतबार भएको पहिलो खेलमा ढेंडो एफसीले नेवारपानीको सक्षम युवा क्लबलाई ४-२ को गोल अन्तरले पराजित गर्यो। ढेंडोका समिराज थोकरले दुई गोल र विश्व लामाले एक गोल गरे भने एक गोल आत्मघाती रह्यो। सक्षमका लागि राहुल थापा र सन्देश पाख्रीनले एक-एक गोल गरे पनि टोलीको हार टार्न सकेनन्। उत्कृष्ट प्रदर्शन गरेका थोकर खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।
दिनको दोस्रो खेलमा परेलीले टिएनटी एफसीलाई २-१ ले हरायो। परेलीका रोज मोक्तान र म्यान अफ द म्याच साजन थिङले एक-एक गोल गरे भने टिएनटीका रबिन मोक्तानले एक गोल फर्काए।
मंसिर ३ गतेसम्म चल्ने यस प्रतियोगितामा मकवानपुरका १६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। विजेताले १ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी पाउने छन्। सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ र विधागत उत्कृष्टले ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन्।
मकवानपुर गाउँपालिका वडा नं. ४ को मुख्य प्रायोजन र मनहरी गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको छ।







