बागमती प्रदेश लोक सेवा आयोगको कृषि अधिकृत सातौँ तहको परीक्षामा पहिलो प्रयासमै सफलता हासिल गरेकी छिन् हिमश्वेता चन्द । बैतडीको दशरथचन्द नगरपालिका-५ की स्थायी बासिन्दा हिमश्वेता हाल मकवानपुरको बकैया गाउँपालिकामा कृषि अधिकृतका रूपमा सिफारिस भएकी छिन् ।
कञ्चनपुरस्थित महेन्द्रनगरमा रहेको मामाघरमा बसेर अध्ययन गरेकी हिमश्वेताले रेडियन्ट उच्च माविबाट आईएस्सी उत्तीर्ण गरेपछि चितवनको कृषि तथा वन विज्ञान क्याम्पस रामपुरबाट कृषि विषयमा स्नातक गरिन् । उनका बुबा थिरेन्द्र कञ्चनपुरको बेदकोट नगरपालिकामा निमावि तहका शिक्षक हुन् भने आमा गीतादेवी निजी विद्यालयमा अध्यापन गर्छिन् ।
स्नातक अध्ययनकै क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २०८० भदौमा इजरायल पुगेकी हिमश्वेता एक महिना नपुग्दै हमास समूहको आक्रमणपछि स्वदेश फर्किन बाध्य भइन् । उक्त आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । स्वदेश फर्केपछि उनले अनलाइन माध्यमबाट इन्टर्नसिप र थेसिस पूरा गरिन् ।
“उच्च शिक्षा अध्ययनसँगै लोक सेवाको पनि अनुभव हुन्छ भनेर दरखास्त दिएकी थिएँ,” हिमश्वेताले भनिन्, “पहिलो प्रयासमै लोक सेवा पास भएर देशको सेवा गर्ने मौका पाउँदा निकै खुसी लागेको छ







