बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले आफ्नो कार्यकालको १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रालयको पहिलो निर्णयबाटै रुग्ण आयोजनाहरूको पहिचान र व्यवस्थापनका लागि अध्ययन समिति गठन गरिएको थियो । समितिको प्रतिवेदन अनुसार ५० वटा रुग्ण आयोजना मध्ये ८ वटा सम्पन्न भएका छन् भने १२ वटामा निर्माण कार्य सुचारु भएको छ ।
मन्त्रालयले विपद्को समयमा तत्काल प्रतिकार्य गर्न द्रुत प्रतिकार्य टोली (QRT) गठन गरेको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त भएका हेटौंडा-काठमाडौं जोड्ने तीन मुख्य सडकसहित सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोक लगायतका जिल्लाका सडकहरूको मर्मत गरी दशैंको समयमा यातायात सुचारु गरिएको छ ।
यस अवधिमा मन्त्रालयले ८ किलोमिटर कालोपत्रे, ९ किलोमिटर सडक ढलान र १२ किलोमिटर ग्राभेल निर्माण सम्पन्न गरेको छ । त्यस्तै २२ किलोमिटर सडक र २५ वटा पुल तथा कल्भर्टको मर्मत गरिएको छ । लक्षित वर्गको आवास कार्यक्रम अन्तर्गत ३५ वटा जनता आवास, ११ वटा चेपाङ आवास र ६५ वटा खरको छाना मुक्त आवास निर्माण सम्पन्न भएको छ । साथै ५५ वटा सरकारी भवन तथा आवास मर्मत गरिएको छ ।
मन्त्रालयले बागमती प्रदेश सरकारको प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढाएको छ । यसका लागि राष्ट्रिय योजना आयोगसँग यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना बनाउन अनुरोध गरिएको छ । प्रदेश सरकारको भवन नीति, २०८१ तयार गरी सहमतिको प्रक्रिया अघि बढाइएको छ ।
रुबी भ्याली लगायत मानव विकास सूचकांकमा पछाडि परेका स्थानीय तहको एकीकृत पूर्वाधार विकासका लागि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ तयार गरिएको छ । प्रदेश राजधानी हेटौंडाको बृहत् विकासका लागि गुरुयोजना र जग्गा विकास कार्यक्रमको पूर्व सम्भाव्यता अध्ययन थालिएको छ । साथै प्रदेश सडक यातायात गुरुयोजना अन्तर्गत सडकहरूको अवस्था अध्यावधिक गर्न सडक इन्भेन्ट्री तयार गर्ने कार्य सुरु गरिएको छ।







