बागमती प्रदेश सरकारको कार्यशैलीप्रति माओवादी केन्द्रको असन्तुष्टि जनाउँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई ध्यानाकर्षण पत्र बुझाइएको छ। नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री कार्यालय हेटौँडामा उक्त पत्र बुझाएका हुन्।
सरकार गठन भएको सय दिन बितिसक्दा पनि प्रदेशको समग्र विकासमा सरकार केन्द्रित हुन नसकेको आरोप जम्कट्टेलले लगाए। उनले सङ्घीयताको मर्म र भावना अनुरूप सरकार सञ्चालन हुनुपर्ने र विकासका आकाङ्क्षा तथा आवश्यकतालाई सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
माओवादी केन्द्रले बुझाएको ध्यानाकर्षण पत्रमा सङ्घीयताको संस्थागत सुदृढीकरण, सुशासन र प्रदेशको विकासमा ध्यान दिन माग गरिएको छ। साथै गत असोज ११ र १२ गते आएको बाढीपहिरोबाट प्रदेशका विभिन्न जिल्लामा भएको जनधनको क्षतिका सन्दर्भमा पीडितहरूको समस्या तत्काल समाधान गर्न पनि माग गरिएको छ। विभिन्न समयमा भएका सर्वदलीय बैठकका निर्णयहरूको तत्काल कार्यान्वयन गर्न पनि ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ।







