चैनपुर जेसीज मनहरीद्वारा आयोजित “बिस्तारै मोटरसाइकल चलाउने” प्रतियोगितामा सुरज कार्की प्रथम भएका छन् ।
प्रतियोगितामा १५ जना सहभागी थिए। अन्य १४ जनालाई अघि लगाउँदै सुरज कार्कीले प्रथम स्थान हाँसिल गरे। अनिल थापा द्वितीय र निमेष केसी तृतीय भएका छन्।
यस प्रतियोगितामा बिस्तारै मोटरसाइकल चलाएर पनि पुरस्कार जित्न सकिन्छ र गन्तव्यमा पुग्न सकिन्छ भन्ने सन्देश दिन आयोजना गरिएको जेसीज सप्ताह मूल कार्यक्रमका संयोजक सुरेश गौतमले बताए।
कार्यक्रमको संयोजकत्व मनिष पौडेपले गरेका थिए भने चैनपुर जेसीज मनहरीका अध्यक्ष रविन ढकालको अध्यक्षता रहेको थियो। मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा प्रमुख अतिथि थिए।
वडा अध्यक्ष थापाले पछिल्लो समय तीव्र गतिमा मोटरसाइकल चलाएकै कारण धेरै युवाले ज्यान गुमाइरहेको स्मरण गर्दै यस्ता कार्यक्रमले सचेतना फैलाउन मद्दत पुग्ने बताए।
यस सप्ताह जेसीज कार्यक्रमअन्तर्गत लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र खुला जेसीज दौड प्रतियोगिता पनि हुने जानकारी दिइएको छ।







