आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदका लागि तीन प्रमुख दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
२०७९ वैशाखको स्थानीय तह निर्वाचनबाट निर्वाचित वडाध्यक्ष ललितबहादुर घलान जिल्ला समन्वय समिति प्रमुख बनेपछि रिक्त भएको पद पूर्तिका लागि हुन लागेको यो उपचुनावमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेले आ-आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन्।
माओवादी केन्द्रले युवा नेता रविन प्रधानलाई अघि सारेको छ भने कांग्रेस र एमालेले भने गत निर्वाचनकै उम्मेदवारहरू क्रमशः अर्जुन तिवारी र राजेश नगरकोटीलाई पुनः मैदानमा उतारेका छन्।
२०७९ को निर्वाचनमा माओवादी केन्द्रका घलानले अत्यन्त सानो मतान्तरले विजय हासिल गरेका थिए। कांग्रेसका तिवारी ३१ मतले पछि परेका थिए भने एमालेका नगरकोटी तिवारीभन्दा १५ मत कम ल्याएर तेस्रो भएका थिए।
त्यही सानो मतान्तर पुरेर वडाध्यक्ष पद आफ्नो पक्षमा पार्न कांग्रेस र एमाले यतिबेला पूरै जिल्ला कमिटी नै परिचालन गरेर लागिपरेका छन्। यता माओवादी केन्द्रले पनि आफ्नो परम्परागत किल्ला मानिएको यस वडामा जित दोहोर्याउन जिल्ला समन्वय समिति प्रमुख घलान स्वयंको नेतृत्वमा केही महिनादेखि नै चुनावी अभियान तीव्र पारेको छ।
२०७४ र २०७९ दुवै निर्वाचनमा जित निकालेको यस वडामा माओवादी केन्द्रमाथि आफ्नो साख जोगाउने चुनौती छ। त्यसैले पार्टीको मुख्य ध्यान यस वडामा केन्द्रित भएको छ।
यसैबीच, कांग्रेसमा वडाध्यक्षका लागि आधा दर्जनभन्दा बढी नेताहरूको नाम सिफारिस भए पनि प्रदेश र जिल्ला कमिटी दुवैले तिवारीलाई नै दोहोर्याउने निर्णय गरेका छन्। युवा संघ मकवानपुरका अध्यक्षसमेत रहेका एमाले उम्मेदवार नगरकोटीले भने यसपटक आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।
उल्लेखनीय छ, आगामी मंसिर १६ गते देशभरका विभिन्न स्थानीय तहमा रिक्त ४४ पदका लागि उपनिर्वाचन हुँदैछ।







