प्रदेश सरकारले प्रदेशस्तरमा एक स्वास्थ्य अवधारणा कार्यान्वयन गर्न प्राविधिक समन्वय समितिको खाका तयार गरेको छ। कृषि तथा पशु विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यस सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको हो।
कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एक स्वास्थ्य अवधारणा कार्यान्वयनका लागि स्थानीय तहको सहभागिता र कर्मचारी संयन्त्रको व्यवस्थित परिचालन आवश्यक रहेको बताए। उनले छोटो र प्रभावकारी ढंगले यो अवधारणालाई अघि बढाउनुपर्नेमा जोड दिँदै यसको दिगो कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताए।
प्रस्तावित खाका अनुसार प्रदेशस्तरमा एक स्वास्थ्य अवधारणा आवश्यक हुनुका प्रमुख कारणहरूमा स्थानीय रोगहरूको नियन्त्रण र रोकथाम, स्रोत र साधनको प्रभावकारी परिचालन तथा विभिन्न क्षेत्रबीच समन्वय र सहकार्य रहेका छन्।
यसैगरी प्राकृतिक विपद्को सामना, जनचेतना अभिवृद्धि, आर्थिक विकास र खाद्य सुरक्षा तथा स्थानीय चुनौतीहरूको समाधान गर्न पनि यो अवधारणा महत्वपूर्ण हुने प्रस्तावमा उल्लेख गरिएको छ।
विशेषगरी जनावरबाट मानिसमा सर्ने रोगहरूको पहिचान, नियन्त्रण र रोकथामका लागि यो अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै यसले कृषि, वातावरण र वन्यजन्तु क्षेत्रबीचको समन्वयलाई प्रभावकारी बनाउने विश्वास गरिएको छ।
कार्यक्रम इडिसिडि निर्देशकका डा. यदु चन्द्र घिमिरेको सभाध्यक्षमा भएको थियो। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमन सिंह, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव विनोद कुमार भट्टराईलगायत कृषि र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।