हेटौंडा उपमहानगरपालिका वडा नं. १२ मा हुन लागेको उपनिर्वाचनमा १४ जना उम्मेदवारले मैदान गर्न लागेका छन्। मंसिर १६ गते हुने यस निर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ।
प्रमुख दलहरूबाट माओवादी केन्द्रका रविकुमार प्रधान (रविन), एमालेका राजेश नगरकोटी र कांग्रेसका अर्जुनप्रसाद तिवारीले उम्मेदवारी दिएका छन्।
अन्य दलहरूबाट राष्ट्रिय स्वतन्त्र पार्टीका आशाबिर बल, एकीकृत समाजवादीका बलराम बल, राप्रपाका प्रेमबहादुर भ्लोन लगायतले उम्मेदवारी दिएका छन्। साथै नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाईजेसन र जसपाका उम्मेदवारहरू पनि चुनावी मैदानमा छन्।
मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईका अनुसार पाँच जना स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन्। यो पद २०७९ को स्थानीय निर्वाचनमा विजयी माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त भएको थियो।
यस वडामा कुल ८,०५३ मतदाता रहेका छन्, जसमध्ये ४,१७४ महिला, ३,८७८ पुरुष र १ अन्य मतदाता छन्। आगामी मंसिर १६ गते हुने यस उपनिर्वाचनले वडाको नयाँ नेतृत्व चयन गर्नेछ।







