हेटौंडामा आयोजित दोस्रो ‘हेटौंडा रन-२०८१’ को उपाधि हेटौंडा-१४ का धावक सञ्जिव मिजारले जितेका छन्। ५ किलोमिटर दूरी २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उनले प्रथम स्थान हासिल गरे।
हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा हेटौंडा-१५ का निश्चल तितुङले २० मिनेट ४२ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरे। त्यस्तै, हेटौंडा-१८ का अभिषेक रोक्काले २० मिनेट ५१ सेकेन्डमा दौड पूरा गरी तेस्रो स्थान प्राप्त गरे।
विजेताहरूलाई क्रमशः रु. २५ हजार, रु. १५ हजार र रु. १० हजार नगद पुरस्कार प्रदान गरियो। चौथो स्थान हासिल गर्ने हेटौंडा-१८ का मनिष गोपलीले रु. ५ हजार र पाँचौं स्थान प्राप्त गर्ने हेटौंडा-१४ का अमृत सुनारले रु. ३ हजार प्राप्त गरे। साथै, हेटौंडा-१८ का रुवि बुलन र राक्सिराङ गाउँपालिकाका सुवास योञ्जनलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो।
२५ जना धावकको सहभागिता रहेको यस प्रतियोगिताको दौड मार्ग बुद्धचोकबाट सुरु भई भैरवरोड, सूर्यचोक, सत्यमचोक, थाहाचोक हुँदै पुनः बुद्धचोकमा समापन भएको थियो।
दौडका विजेता, उपविजेता तथा अन्य खेलाडीहरुलाई आयोजक खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलगायतले पुरस्कार वितरण गरेका थिए । समापन समारोहमा खेलकुद विकास समिति सदस्यहरु विनोद राय, विजय गौतम, सुनिल लोप्चन तथा निमित्त शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटालगायतको उपस्थिति रहेको थियो ।







