नागस्वती भेट्रान्स क्लबले तेस्रो नागस्वती कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वाती भेट्रान्स क्लबले फाइनलमा जित्न सफल भएको छ।
शनिबार हेटौंडा-७ नागस्वतीमा भएको फाइनल खेलमा जोरपाटी भेट्रान्स काठमाडौंलाई ट्राई ब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै आयोजक टोली च्याम्पियन बनेको हो।
निर्धारित समयमा १-१ को बराबरीमा सकिएको खेल ट्राई ब्रेकरमा धकेलिएको थियो। खेलको ३९औं मिनेटमा नागस्वतीका मिलेन्द्र देवानले गोल गरेका थिए भने जोरपाटीका निमा लामाले ४६औं मिनेटमा बराबरी गोल फर्काए। ट्राई ब्रेकरमा नागस्वतीका मिलेन्द्र देवान, दिलीप छेत्री, विक्रम श्रेष्ठ र निमा लामाले गोल गरे। जोरपाटीका तर्फबाट राकेश लामा, निमा लामा र रञ्जित लामाले गोल गरे।
नागस्वतीका गोलकिपर दिलीप छेत्री म्यान अफ द म्याच घोषित भए। विभिन्न विधागत पुरस्कारमा बेस्ट फरवार्ड जोरपाटीका सुरज सुवेदी, बेस्ट गोलकिपर नागस्वतीका दिलीप छेत्री, बेस्ट डिफेन्डर मिलन राई, बेस्ट मिडफिल्डर राजकुमार घिसिङ, बेस्ट स्कोरर मिलेन्द्र देवान र बेस्ट टिम कोच भीम श्रेष्ठ छनोट भए। विधागत विजेताले जनही रु. १० हजार प्राप्त गरे। टुर्नामेन्टको सर्वोत्कृष्ट खेलाडी नागस्वतीका सन्तोष बस्नेतले रु. ५० हजार पुरस्कार पाए।
विजेता नागस्वतीले रु. २ लाख १ हजार र उपविजेता जोरपाटीले रु. १ लाख १ हजार नगदसहित ट्रफी प्राप्त गरे। देशभरका ४० वर्षमाथिका पूर्व राष्ट्रिय खेलाडी सम्मिलित १५ भेट्रान्स क्लबको सहभागिता रहेको यस प्रतियोगितामा नागस्वतीले लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले आगामी प्रदेशस्तरीय खेलहरूमा भेट्रान्स खेलाडीहरूका लागि पनि प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलकुद संघसंस्थाका पदाधिकारी तथा पत्रकार महासंघका प्रतिनिधिको उपस्थिति रहेको थियो।