हेटौंडामा आगामी मंसिर १२ देखि १५ गतेसम्म टि-१० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कमिटी मकवानपुरले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो।
हेटौंडा-४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा बागमती र मधेस प्रदेशका १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। खेलका सह-संयोजक प्रमोद मानन्धरका अनुसार प्रत्येक टिममा १५ जना खेलाडी रहनेछन् र खेलहरू नकआउट प्रणालीमा हुनेछन्।
६ लाख रुपैयाँको लागतमा सञ्चालन हुने प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर, म्यान अफ द म्याच र प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेशका अध्यक्ष समिम खानले यस प्रतियोगिताले इत्तेहाद समुदायका युवाहरूलाई कुलतबाट जोगाउन र समाजमा भातृत्व सम्बन्ध कायम राख्न विशेष भूमिका निर्वाह गर्ने बताए।
पत्रकार सम्मेलन कार्यक्रममा मकवानपुर क्रिकेट संघका सचिव बिनोद बानियाँ लगायत खेलाडिहरुको सहभागिता रहेको थियो ।