अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सिस्नेरीमा भएको पहिरो दुर्घटनापछि एन्फा एकेडेमीलाई हेटौंडा एकेडेमीमा स्थानान्तरण गर्ने निर्णय गरेको छ।
गत असोज महिनाको १० देखि १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित सिस्नेरी मा रहेको बत्सला माविमा एन्फा एकेडेमीमा पहिरोका कारण ६ विद्यार्थी खेलाडीको मृत्यु भएपछि एकेडेमी बन्द अवस्थामा थियो। सो घटनापछि व्यापक आलोचना भएपछि एन्फाले एकेडेमी सार्ने निर्णय गरेको हो।
हेटौंडा एकेडेमी र एन्फाबीच १४ वर्ष मुनिका विद्यार्थीहरूलाई फुटबल प्रशिक्षण दिने सहमति भएको एन्फाका प्राविधिक निर्देशक हरि खड्काले जानकारी दिए। सोमबारसम्म १८ जना खेलाडी हेटौंडा एकेडेमीको होस्टेलमा आइसकेका छन् र अन्य खेलाडीहरू पनि आउने क्रममा रहेका छन्।
खड्काले विद्यार्थीहरूको शैक्षिक र खेलकुद गतिविधिलाई निरन्तरता दिन जतिसक्दो चाँडो व्यवस्थापन गर्न लागेका जानकारी दिएका छन्।