बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भ्रष्टाचार नियन्त्रणका लागि सबै निकाय र पक्षहरूको एकीकृत प्रयास महत्वपूर्ण रहेको बताउनुभयो।
सोमबार हेटौंडामा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८१ को अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ र प्रविधिमैत्री विधि विकास गर्न आवश्यक रहेको बताउनुभयो।
मुख्यमन्त्री लामाले राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र आम नागरिकको सम्पत्ति पहिचान गर्नुपर्ने र केवल ऐन कानुन ल्याएर मात्र भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताउनुभयो।
कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पनि भ्रष्टाचार विकास र समृद्धिको प्रमुख बाधक रहेको स्पष्ट पार्नुभएको छ। वर्तमान आर्थिक वर्षको पहिलो ५ महिनामा ५४१ वटा भ्रष्टाचारका उजुरी दर्ता भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय प्रमुख उमाकान्त आचार्यले शासकीय संरचनामा सुधार र सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउँदा भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताउनुभयो।
कार्यक्रम प्रदेश प्रमुख सचिव डा. हरिप्रसाद लम्सालको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेशका विभिन्न मन्त्री अरुको उपस्थिति, सचिव र कर्मचारीहरू सहभागी भएका थिए। 







